काठमाडौं ।
कोरोनाको कारण व्यवसाय ठप्प हुँदै सबैको आम्दानी घटेको बेला नेपाल आयल निगमले भने मंगलबार रातिदेखि फेरि इन्धनको मूल्यवृद्धि गरेको छ । १२ दिनअगाडि पनि निगमले मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिले निगमलाई राहत दिए पनि आमसर्वसाधारण भने क्रोधित भएका छन् ।
प्रतिलिटर दुई रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पु-याएको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेर एक सय १२ रुपैयाँ पुगेको छ । यस्तै, हवाइ बाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाइ इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर सात सय ४५ डलर पु¥याएको निगमले जनाएको छ । यसअघि पछिल्लो पटक यही असार १० गते रातिदेखि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।
मंगलबार रातिदेखि खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ पु-याएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने निगमलाई घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ । जनस्तरबाट मूल्यवृद्धिको विरोध भए पनि निगमले मूल्यवृद्धिलाई रोेकेको छैन । निगमले विज्ञप्ति नै जारी गरी इन्धनको मूल्यवृद्धि हुनाको कारणबारे जानकारी दिएको छ । निगमले अन्तर्राष्ट्रिय क्षेत्र र छिमेकी भारतमा पनि मूल्यवृद्धि भएको कारण देखाउँदै नेपालमा मूल्य बढाउनुपर्ने कारण रहेको जनाएको छ ।