काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आरबीबी म्युचुअल फण्डअन्तर्गत एक अर्ब रुपैयाँ (दश करोड एकाइ) को आरबीबी म्युचुअल फण्ड–१ यही असार २३ गते अर्थात् आज बुधबारदेखि बिक्री खुला भएको छ । यस योजनाको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल एकाइ रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले दुुई प्रतिशत रकम बीज पुँजीको रूपमा लगानी गर्नेछ । प्रतिएकाइ मूल्य १० रुपैयाँ रहेको म्युचल फण्डमा अधिकतम एक करोड एकाइ संख्यासम्म लगानी गर्न सकिनेछ ।
एकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरूमा लगानी गरी आवेदकहरूलाई उच्चप्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु-याउने उद्देश्यले यस योजनाको एकाइहरू निष्काशन गर्न लागिएको हो । नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्नुहुने लगानीकर्ताहरूले मेरो सेयरको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुला रहनेछ ।