काठमाडौं । पछिल्लो १० दिनको तथ्यांकले नेपालमा फेरि कोरोनाको संक्रमण बढ्न थालेको देखाएको छ । सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा निषेधाज्ञा खुकुलो बनाउन थालेपछि कोरोना संक्रमितको दर पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार दिउँसो थप दुई हजार नौ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ९८ जनामा गरिएको परीक्षणमा करिब तीन हजारको संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार असार १४ गते सोमबार ११ हजार छ सय ४० जनाको परीक्षण भएकामा दुई हजार चार सय ४४ जनामा कोरोना पुष्टि भएको थियो । असार १५ गते ११ हजार सात सय ४८ जनाको परीक्षण गर्दा दुई हजार छ सय ३६ जनामा संक्रमण भएको थियो भने असार १६ गते ११ हजार पाँच सय ६८ जनाको परीक्षण गर्दा दुई हजार आठ सय ९२ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यसपछि असार १७ गते १० हजार नौ सय ८५ जनाको परीक्षण गर्दा अघिल्लो दिनको तुलनामा घटेर दुई हजार सात सय ६० जनामा कोरोना देखिएको थियो । असार १८ गते १० हजार पाँच सय ९६ जनाको परीक्षण गर्दा दुई हजार दुई सय ९९ जना, असार १९ गते १० हजार एक सय ३३ जनाको परीक्षण गर्दा दुई हजार तीन सय २८ जना, असार २० गते आठ हजार एक सय ३२ जनाको परीक्षण गर्दा एक हजार छ सय तीन जनालाई कोरोना पुष्टि भएको थियो ।
असार २१ गते ११ हजार पाँच सय २७ जनाको परीक्षण गर्दा दुई हजार छ सय २२ जनामा कोरोना पुष्टि भएको छ । असार २२ गते १२ हजार पाँच सय ८५ जनाको परीक्षण गर्दा संक्रमितको संख्या दुई हजार छ सय ३४ जना पुगेको छ भने असार २३ गते बुधबार संक्रमितको संख्या बढेर दुई हजार नौ सय ७९ जना पुगेको हो । उक्त दिन ११ हजार आठ सय ९८ जनाको परीक्षण भएको थियो ।
बुधबार २८ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने एक हजार तीन सय ३३ जनालाई मात्र कोरोना निको भएको छ । निको हुनेको प्रतिशत ९४ दशमलव पाँच छ । बुधबारसम्म नौ हजार दुई सय ९१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बुधबार ३१ देखि ४० वर्ष उमेर समूहका पाँच सय १७ जनामा कोरोना पुष्टि भएको थियो भने ८० वर्षमाथिका ३१ जनामा मात्र कोरोना देखिएको छ ।