काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनीमा लाने गरी भएको कार्यलाई बन्द गर्न माग गर्दै आन्दोलनरत निगमका संयुक्त कर्मचारी ट्रेड युनियनहरुले महाप्रबन्धक डिमप्रसाद पौडेलको बर्खास्ती नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । कर्मचारी युनियनले गर्विलो इतिहास बोकेको संस्था राष्ट्रिय ध्वजावाहक निगमको चाबी दलालहरुको जालझेल र सेटिङले हवाइ माफियालाई बुझाउन खोज्ने अर्को दलाल संस्थाकै महाप्रबन्धक पौडेल भएकोले उनको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
निगमको केन्द्रीय कार्यालय न्युरोडमा बुधबार पत्रकार सम्मेलन गर्दै निगमका तीनवटै कर्मचारी ट्रेड युनियनहरूले महाप्रबन्धक पौडेलको राजीनामा माग गरेका छन् । बतास कम्पनी, विभिन्न इन्स्योरेन्स कम्पनीलगायतमा मालिक रहेका महाप्रबन्धक पौडेल निगमलाई डुबाएर निजी कम्पनीलाई हस्तान्तरण गर्न नै निगममा आएकोले यस्तो नैतिकहीन महाप्रबन्धकलाई निगमको नेतृत्वमा बस्ने अधिकार नभएको कार्यक्रममा ट्रेड युनियनका अध्यक्षहरुले एक स्वरमा बताए । ‘निगमलाई, सरकारलाई र सिंगो मुलुकलाई नै गुमराहमा राखेर वायुसेवा निगमजस्तो गरिमामय संस्थालाई अमुक निजी क्षेत्रलाई सुम्पन खोज्ने कार्य हामीलाई कदापि स्वीकार्य छैन’, उनीहरुले भने ।
आन्दोलित संयुक्त कर्मचारी ट्रेड युनियनले महाप्रबन्धक पौडेलकै चलखेलमा निजी क्षेत्रको स्वार्थपूर्ति गर्न निगमलाई कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप लगाएका छन् । गुमराहमा राख्नकै लागि तयार पारिएको प्रबन्धपत्रमा सेयर लगानी अनुपातमा संस्थापक तथा संस्थापक समूहको सेयर खरिद गर्ने सेयरधनीहरुलाई भनी ५१ प्रतिशत छुट्याउने कार्य नै निगमलाई हवाइमाफियाको काखमा सुम्पिने रणनीति भएको संयुक्त ट्रेड युनियनको दाबी छ । शान्तिपूर्ण रुपमा महाप्रबन्धक पौडेलविरुद्ध सिंगो निगमका कर्मचारीहरु आन्दोलनमा उत्रिँदा पौडेलले प्रहरी प्रशासन लगाएर धरपकड गर्ने, लाठ्ठी चार्ज गर्ने र कार्य क्षेत्रबाटै गिरफ्तारी गर्ने गरेको भन्दै त्यसको घोर भत्र्सना समेत संयुक्त ट्रेड युनियनले गरेको छ ।
पत्रकार सम्मेलनमार्फत तीनवटै कर्मचारी ट्रेड युनियनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भित्री चाल लुकाउन मिडियाबाजी गर्दै हिँडेका महाप्रबन्धक पौडेलको राजीनामा र निगमलाई निजीकरण गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले भने, ‘नालायक महाप्रबन्धक डिमप्रसाद पौडेललाई तत्काल बर्खास्त गरियोस् ।’
असार १४ गते कर्मचारी तथा व्यवस्थापनका अन्य सदस्यहरुलाई समेत थाहा नदिई निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै प्रबन्धपत्र तथा नियमावली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सो क्रममा गत मंगलबार निगमको कार्यालयमा भएको तालाबन्दी खोल्ने क्रममा प्रहरीले कर्मचारीहरुलाई लाठी हानेको थियो ।