नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार सात सय ३३ जना नयाँ संक्रमित भएका छन् । योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ५९ हजार नौ सय २० पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या थोरै भएको एक सय दुई दिनपछि पहिलो पटक भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म कुल संक्रमितमध्ये १.५ प्रतिशत मात्रै अहिले सक्रिय संक्रमित रहेका हुन् ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या दुई करोड ९७ लाख ९९ हजार पाँच सय ३४ रहेको छ । तीमध्ये ४७ हजार दुई सय ४० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । यो तथ्यांकअनुसार भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या ९७.१८ प्रतिशत रहेको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार अहिलेसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ वटा स्वाब परीक्षण गरिएको छ । तीमध्ये १९ लाख सात हजार दुई सय १६ जना पछिल्लो एक दिनमा गरिएको हो । (रासस/एएनआई)