काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए ।
नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटाइजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै उनले फ्रान्सेली लगानीकर्तालाई लगानी गर्न आग्रह गरे । अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराएका थिए ।
नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउँदै उनले विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पु-याउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापारघाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए । हालसम्म फ्रान्सबाट एक सय सात परियोजनामा करिब एक अर्ब रुपैयाको लगानी प्रतिबद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापारघाटा करिब साढे आठ अर्ब रुपैयाँ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौंस्थित फ्रान्सेली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्युरिटी, बैंकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोबाइल, रेमिट्यान्सलगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा नेपालका लागि फ्रेन्सेली राजदूत फ्राँस्वाँ–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरूको विश्वास थियो । मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स बिजनेस फोरमजस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्य क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवद्र्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव उनको थियो । बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे ।
सो अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द बगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासंघले संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । उनले वैदेशिक लगानीसम्बन्धी नीतिगत व्यवस्था, लगानीको वातावरण, नेपालको भौगोलिक अवस्था तथा चीन तथा भारतको बजार, विद्यमान युवा जनसांख्यिक लाभ, श्रमशक्ति, भिसाको सहज व्यवस्था, लगानीका क्षेत्रहरू, भौगोलिक विविधतालगायतका विषयमा स्पष्ट पारेका थिए ।