तक्षशिला (पाकिस्तान) ।
पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्वसदस्य मलिक शहान हक्मिन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्वसभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो ।
आक्रमणपछि उनलाई जिल्ला सदरमुकामस्थित एक अस्पताल लगिएको थियो तर पछि थप उपचारका लागि उनलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो । ‘हामी डीएचक्यू अस्पताल रावलपिंडी नजिकै पुगेका थियौँ तर अस्पतालमा पुग्नुअघि उहाँको देहावसान भयो’, पाकिस्तानी सञ्चारमाध्यमले जिल्ला आपत्कालीन अधिकारी इशफाक मियांलाई उद्धृत गरी लेखेको छ ।
प्रान्तीय विधानसभाका पूर्व उम्मेदवार र हक्मिन खानका निकटस्थ मलिक हमिद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो । घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको खानले बताए ।
पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए । उनी आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य भएका थिए ।
पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्विट गरेर उनको मृत्युमा शोक व्यक्त गर्दै भनेका छन्, ‘शहन हक्मीनको हत्याको खबर सुन्दा म धेरै दुखी छु र शोकमग्न भएको छु । आफ्नो स्वर्गीय बुबा मलिक हकमिन जस्ता आस्तिक पीपीपी नेताको हत्यारालाई सजायँ दिनुपर्छ र मृतकका आफन्तजनलाई न्याय हुनुपर्छ ।’
खानका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव शरीर घर पुग्नेबित्तिकै ठूलो संख्यामा समर्थक, प्रशंसक, पार्टी कार्यकर्ता र नेताहरू मृतकको परिवारसँग सहानुभूति प्रकट गर्न घरसम्म पुगेका थिए ।
प्रहरी स्रोतका अनुसार उनलाई सम्पत्तिसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार हत्यामा सम्लग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ । रासस/एएनआई