काठमाडौं ।
ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरू सञ्चालनमा ल्याउनेछन् ।
शुक्रबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र क्यानका तर्फबाट क्यानका उपाध्यक्ष रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् ।
साथै सम्झौताअनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको विनाधितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यानअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्नेछ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।