काठमाडौं ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा लैजाने गरी प्रबन्धपत्र र नियमावली निगमको तालुक मन्त्रालय संस्कृति तथा पर्यटन मन्त्रालयमा पेश भएपछि यति बेला यसको चर्चा बढेको छ । राष्ट्रिय ध्वजावाहक वायुसेवाजस्तो गर्विलो संस्थालाई कम्पनीमा लाने निर्णयको पूर्वप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले आइतबार कडा शब्दमा विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।
सरकारको एक मात्र वायुसेवा प्रदायक नेपाल एयरलाइन्सलाई कम्पनीमा किन रुपान्तरण गरिँदै छ, कसको लागि गरिँदै छ यो जिज्ञासा आमजनमानसमा बढ्दै गएको छ । चिनियाँ विमान, न्यारोबडी हुँदै वाइडबडी विमान भित्र्याएको निगममा व्यापक भ्रष्टाचार भएको गुनासो रहँदै गर्दा २०७७ कात्तिक २३ गते राष्ट्रिय सतर्कता केन्द्रले निगमभित्र भएको अनियमितताको छानबिन गर्न बनाएको समितिले यही असार २ गते आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्र.उ. राजेन्द्र कुमार पोखरेल, प्र.ना.उ. बुद्धिराम खनाल र शा.अ. भावना पुडासैनीको सम्मिलित समितिले बुझाएको निगमभित्रको कालो कर्तुत गुपचुप राख्ने कोशिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा निगमभित्र अनियमितता तथा भ्रष्टाचारजन्य कार्य भएको, उच्चपदस्थ व्यवस्थापक तथा अन्य जिम्मेवार पदाधिकारीले जिम्मेवारीपूर्ण कार्य नगरेको जस्तै निगममा कार्यरत पाइलटहरूलाई विदेशमा तालिममा पठाउँदा पूर्वाग्रही ढंगले पठाएको, एअर ३३० मा विदेशी पाइलटलाई करारमा गैरकानुनी नियुक्ति गरेको तथा कामै नगरी रकम भुक्तानी दिएको, क्याप्टेन दिपुराज ज्वारचनलाई अपरेसन निर्देशकको रुपमा नियुक्ति निगमको अपरेसन म्यानुअल विपरीत गैरकानुनी भएको, अपरेसन डाइरेक्टरले आफूअनुकूलका इन्जिनियरलाई पाँच दिने तालिममा पठाई १० दिनको भ्रमण भत्ता दिएको, क्याबिन क्रु र क्याप्टेनको करार नवीकरण नियमविपरीत भएको, वायुसेवा निगमको अपरेसन निर्देशकले क्रुहरूको आवासको लागि न्यूनतम तीनवटा कोटेसन विना टेन्डर आह्वान गरी तीन तारे गार्डेन होटल नारितासँग नियमविपरीत आर्थिक चलखेल गरी सम्झौता गरेको लगायतका
केन्द्रमा परेको उजुरीहरूको छानबिन गरी पेश गरिएको ५२ पृष्ठ लामो प्रतिवेदनमा निगमभित्र निगमलाई नै सखाप पार्ने गरी कार्यहरू भइरहेको पाइएको हो । निगममा कार्यरत क्या. ज्वारचनलाई अनियमित तरिकाले निगममा प्रवेश गराई महाप्रबन्धक डिम प्रसाद पौडेल, एचआर म्यानेजर अशोक सिग्देल, क्या ज्वारचनलगायतको टिम निगमलाई हानि नोक्सानीजन्य गर्ने कार्यमा लागेको पाइएको हो ।
केन्द्रको प्रतिवेदनअनुसार निगममा भएको व्यापक भ्रष्टाचारमा निगमकै महाप्रबन्धकको कार्यशैलीदेखि उच्च तहका कर्मचारीहरूको संलग्नता भएको हुँदा सो छानबिन तथा आवश्यक कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराई कारबाही गर्ने भनिएको छ ।
पछिल्लो समय निगममा महाप्रबन्धक पौडेलले केही व्यक्तिको स्वार्थबमोजिम राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवालाई कम्पनीमा लाने र सरकारी संस्थालाई बेचिदिने प्रपञ्च रचेको र सोहीअनुसार प्रबन्धपत्र र नियमावली बनाई पर्यटन मन्त्रालयमा पेश गरेको भन्दै निगमका करिब १५ सय कर्मचारीहरू आन्दोलनरत छन् ।