काठमाडौं ।
बैंकिङ क्षेत्रमा औषतमा एक दसमलव ५० प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । बिश्वरुव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को बाबजुत पनि बैंक तथा फाईनान्स कम्पनीहरुले कुल निष्क्रिय कर्जालाई एक दसमलव ५० प्रतिसतमा सिमित राख्न सफल भएका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको अवधिमा २७ वटा बाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा बिकास बैंक र २० वटा फाईनान्स कम्पनी समेत गरी ६५ वटा संस्थाहरुले कुुल ४४ खर्ब ७४ अर्ब २३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा एक दसमलव ५० प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । सो मध्ये बाँणिज्य बैंकहरुले मात्र ३९ खर्ब ५७ अर्ब ८६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ खर्ब नौं अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा एक दसमलव ४१ प्रतिसत कर्जा निष्क्रिय देखिएको थियो ।
बिकास बैंकहरुले भने चालुु आवको पछिल्लो १० महिनाको अवधिमा चार खर्ब १६ अर्ब चार करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ७० अर्ब छ करोड ८९ लाख रुपैर्या कर्जा प्रवाह गरेकाछन । सो मध्ये एक दसमलव ३५ प्रतिसत कर्जा निष्क्रिय देखिएको छ । यसैगरी फाईनान्स कम्पनीहरुले भने चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको अवधिमा एक खर्ब ३२ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब तीन करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । जसमध्ये पाँच दसमलव ७१ प्रतिसत कर्जा निष्क्रिय देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अहिलेपनि धेरै वटा फाईनान्स कम्पनीहरु समस्याग्रस्त मुक्त घोषणा भई सुधारको प्रकृयामा रहेकाकारण बाणिज्य बैंक र बिकास बैंकहरुको तुलनामा फाईनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा बढी देखिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार गत साता अर्थात यही असार २३ गतेसम्ममा भने बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप ४६ खर्ब भन्दा माथि पुगेको छ भने कुल कर्जा रकम ४१ खर्ब ३५ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । सो मध्ये बाणिज्य बैंकहरुको मात्र कुल निक्षेप ४० खर्ब ७५ अर्ब र कुल कर्जा रकम ३६ खर्ब ७८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा बाँणिज्य बैंकहरु बाहेकका बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम पाँच खर्ब ३० अर्ब नाघेको छ भने कुल कर्जा रकम चार खर्ब ५७ अर्ब रुपैयाँ नाघेको छ ।
