काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताएका छन् । कोभिडविरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरूसँग सहमति र संवाद गरिरहेले सन् २०२१ भित्र मोटामोटी सबै जनतालाई खोप लगाइसक्ने उनले दाबी गरे । वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै उनले खोपको थप मात्रा प्राप्त हुने क्रम जारी रहेको र अब निरन्तर ल्याउनका लागि सरकार लागिपरेको बताए ।
भौतिक दूरी कायम राख्ने, मास्कलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्म जारी राख्नुपर्ने उनले बताए । सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागिहालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने पनि उनको भनाइ थियो । यस्तो उपचार जनताको क्रयशक्तिभित्रकै रहोस् र खर्चिलो उपचार सेवासमेत बीमाले समेट्दै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको उनले बताए ।
नेपाली भूमि ज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्सा शास्त्र, शल्यक्रियाजस्ता विषयको ज्ञान यहीँ प्रादुर्भाव भएको पनि उनले दाबी गरे । यहाँका पूर्वजहरूले अन्धविश्वासी नभई अनुसन्धान गरेको आधारमा विभिन्न जडीबुटीका औषधीय गुण पत्ता लगाएको उनले बताए ।
नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उनले दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले थप ऊर्जा दिने बताए । नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत उनको दाबी थियो । अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी बिरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै उनले बिरामीको आधा रोग मनोबल बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने उल्लेख गरे । अस्पताललाई अविलम्ब पूर्ण क्षमतामा लैजाने र त्यसक्रममा नचाहिएको सामान किनेर निष्क्रिय बनाउने काम गर्नुनहुने प्रधानमन्त्रीको भनाइ थियो ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समयभन्दा अगाडि नै निर्माणसम्पन्न हुनु खुसीको विषय भएको बताए । सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप पाँच सय शय्या थपिएको भन्दै उनले अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैरकोभिडको उपचार गर्न सहज भएको बताए । अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुँदा दुई सयवटा सघन उपचार कक्ष र एक सयवटा डायलायसिस सेवा दिने शय्या बन्ने तथा छुट्टै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी पनि दिए ।