काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुनः २२ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २१ गते पनि राष्ट्र बैंकले नौ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति असार २९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आज अर्ब ६० करोड रुपैयाँको रहेको छ । यी टे«जरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७८ असोज २६ गते, २०७८ पुस २७ गते र २०७९ असार २८ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत रहेको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरू बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ । चालू आवको तेस्रो चौमास सकिनै लाग्दा यीमध्ये अधिकांश ऋणपत्र बिक्री गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।
