काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाईनान्सलाई प्राप्ती गरी एकीकृत कारोबार सुभारम्भ गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी असार २६ गते शनिबारबाट एकीकृत कारोबार शुभारम्भ गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरू सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुुन् ।
२०७८ साल असार २५ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब ४१ अर्ब रूपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब २४ अर्ब रूपैयाँ हुनेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय ८९ हुनेछ । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुगेको छ ।
हाल सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरू र प्रदेश नं २ मा २० वटा शाखाहरू रहेकोमा प्राप्तिपश्चात् उक्त प्रदेशमा २७ वटा शाखाहरू सञ्चालनमा आएका छन् । सहमतिअनुसार, सिर्जना फाइनान्स लिमिटेडका सेयरधनीले एक सय कित्ता सेयरबराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रूपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रूपैयाँ हुनेछ ।
उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्तिपश्चात् बैंकको वित्तीय सूचकांकहरू मानव स्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मदत पुग्ने विश्वास अभिव्यक्त गरे ।
प्राप्तिबाट सिर्जना फाइनान्स लिमिटेडका ग्राहकहरूले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरू प्राप्तिपछि बनेको सिटिजन्स बैंकको एक सय ८९ वटा शाखाहरूबाट प्राप्त गर्ने बताए । त्यसैगरी साबिकको सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयेश प्याकुरेलले सिर्जना फाइनान्स लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरूको हित र भविष्य सिटिजन्स बैंकमा अझ बढी सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपश्चात् बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे ।
संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरूको उचित व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरू सञ्चालन गर्ने बताए । बैंकको बढ्दो व्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरूबाट सिर्जित हुनसक्ने जोखिमहरू अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी सम्भावित हानिलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको व्यहोरा जाहेर गरे ।
विसं २०६४ वैशाख ७ गतेदेखि २०औँ वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई अंगीकार गर्दै यसअगावै नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड, प्रिमियर फाइनान्स लिमिटेड र नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरिसकेको छ ।