इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्यांकलाई उद्धृत गरी जियो न्युजले जानकारी गराएको छ ।
मे ३० पछि पाकिस्तानमा संक्रमणदर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्टअनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार तीन सय ६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार नौ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा पाकिस्तानमा कोभिड–१९ संक्रमित २७ बिरामीको मृत्यु भएको छ । संक्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्वा हो ।
पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ७३ हजार दुई सय ८४ संक्रमित रहेका छन् २२ हजार पाँच सय ८२ संक्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कुल ३७ हजार सक्रिय संक्रमित छन् ।
अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार तीन सय ६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार तीन सय १३, इस्लामाबादमा ८३ हजार छ सय ४७, बालोचिस्तानमा २७ हजार नौ सय ६१, गिलगिट–बाल्टिस्तानमा छ हजार आठ सय ५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति संक्रमित भएका छन् ।
यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरूतिर कोरोना भाइरसको चौँथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई उद्धृत गरी आफ्नो समाचारमा लेखेको छ ।