दोलखा । स्थानीय सरकारको सक्रियतामा बैतेश्वर गाँउपालिकामा दर्जनौँं पुराना योजनाहरू धमाधम पूरा हुनथालेका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आएपछि पालिका अध्यक्ष छवि लामाले विकास निर्माणको कार्य गर्न निकै चासो दिएका छन् ।
उनले आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको कार्यलय भवन तथा सबै वडाको आ–आफ्नो भवन निर्माण सम्पन्न गरेको, गाउँपालिका चारवटा मुख्य सडक कालोपत्रे गर्नै सुरु गरेको, खानेपानी समस्यालाई अन्त्य गरेको बताए । कृषि क्षेत्रलाई उत्पादन र अनुदानमुखी बनाउने, गाउँपालिकामा धार्मिक र पर्यटकीय गन्तव्य निर्माण गर्ने तथा शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउने कार्यमा आफू लागिपरेको दाबी गरे । अझै झण्डै एक वर्ष आफ्नो कार्यकाल बाँकी रहेकोले अझै धेरै कार्य गर्नसकिने उनको भनाइ छ ।
स्थानीय सरकार आएपछिको ४ वर्षको अवधिमा दर्जनौं विकास निर्माणहरू भएका छन् । गाउँपालिकाले पाँच वर्षमा आठ किलोमीटर सडक कालोपत्रे गर्ने योजनाअनुसार हाल चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ भने थप चार किलोमिटर सडक कालोपत्रे गर्ने तयारी थालेको छ । साथै पालिकाले दर्जनको हाराहारीमा मन्दिर, गुम्बा, मूर्ति र सालिक निर्माण सम्पन्न गरेको छ ।
गाउँपालिकामा दर्जनौँ बस्तीलाई सडक सञ्जालले एक आर्कामा जोडेको र ग्रामीण सडक विस्तार, कृषि सडक विस्तार गरेको अध्यक्ष लामाले बताए । गाउँपालिकाको स्वास्थ्य र शिक्षामा उल्लेखनीय सुधार र विकास भइरहेको उनले बताए । गाउँपालिले आफ्ना नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा प्रदान गर्न बैतेश्वर अस्पताल निर्माण गर्नुका साथै वडा–वडामा स्वास्थ्य भवन निर्माण तथा पुनर्निर्माण गरेको जानकारी दिए ।
उनले आगामी चालू वर्षमा गाउँका हिलाम्मे गोरेटो बाटो पक्की बनाउन आफूलगायत गाउँपालिकाका अन्य जनप्रतिनिधि टोल–टोलमा योजना माग्न गाउँटोल डुलिरहेको जानकारी दिए । जिल्लाका अन्य केही स्थानीय तहले गाउँपालिकाको केन्द्र तोक्न नसकिरहेको अवस्थामा बैतेश्वरले आफ्नो कार्यकालमा उल्लेखनीय विकास गरेको लामाको भनाइ छ ।
बैतेश्वर गाउँपालिका साबिकका गाविस गैरिमुदी, मिर्गे, काब्रे, नाम्दु, मार्बु र क्षत्रपा मिलेर बनेको छ । गाउँपालिकाको विकासका लागि सबै जनप्रतिधिहरू एकजुट भएर लागेको अध्यक्ष लामाले बताए । जनप्रतिनिधिले साझा योजना बनाएर सबै क्षेत्रलाई समेटेर काम गरिरहेको उनको भनाइ छ । आफूले निर्वाचन ताका बोलेका सबै कुराहरू करिब करिब पूरा गरेको पनि उनले दाबी गरे ।