काठमाडौं ।
नेपाल बंगलादेश बैंकको संस्थापक सेयरधनी समूहको विदेशी साझेदार बंगलादेशको आईएफआईसी बैंक लिमिटेड ढाकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्नेभएको छ । एनबी बैंकका अनुसार उक्त समूहले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार चार सय ३६ कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट बोनस सेयर दिएमा उक्त सेयर समेत बिक्री गर्ने तयारी गरेको जानकारी एनएबी बैंकले दिएको छ ।
सेयर बिक्रीमा सम्बन्धमा बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई दिएको जानकारीअनुसार प्रबन्धपत्र तथा नियमावली र आईएफआईसी बैंक लिमिटेडसँग भएको सयुक्त लगानीसम्बन्धी सम्झौताअनुसार आईएफआईसीको नाउँमा रहेको संस्थापक सेयर खरिद गर्ने पहिलो हक एनबी बैंक कै संस्थापक सेयरधनीहरूको रहेको र त्यहाँबाट खरिद सम्भव नभए अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्ने तयारी गरिएको छ ।