काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका विषयमा सुझाव संकलन गरेको छ । बोर्डले नेपाल सरकारको आर्थिक वर्ष २०७७।७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवर्द्धन गर्ने कार्यक्रम रहेको र सोसम्बन्धी नियमावली तर्जुमा गरी पेस गर्ने निकायको रूपमा नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी तोकिएको पृष्ठभूमिमा बोर्डले तयार गरेको सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग राय सुझाव लिने उद्देश्यले सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी छलफल कार्यक्रम बोर्डले भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बोर्डका कार्यकारी निर्देशक, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, नेपाल स्टक एक्सचेञ्ज तथा सीडीएससीका प्रतिनिधिहरू, ब्रोकर तथा मर्चेन्ट बैंकर एसोसियसनका प्रतिनिधिहरू, विभिन्न लगानीकर्ता समूहका प्रतिनिधिहरू, आर्थिक पत्रकारहरू, सम्मिश्रित वित्तसम्बन्धी विज्ञहरूलगायत अन्य सरोकारवालाहरू तथा बोर्डका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोर्डका कामु कार्यकारी निर्देशक श्री विनयदेव आचार्यले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेका थिए भने सम्मिश्रित वित्तसम्बन्धी विज्ञ प्राडा अच्युत वाग्लेले सम्मिश्रित वित्तसम्बन्धी धारणा, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको सन्दर्भसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साथै उक्त कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी प्रस्तावित नियमावलीको व्यवस्थासम्बन्धी प्रस्तुति दिएका छन् । सो कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरणपश्चात् भएको छलफल कार्यक्रममा सहभागीहरूबाट आएका जिज्ञासाहरू कार्यक्रमका प्रस्तोताहरू तथा सम्बन्धित विषयका विज्ञहरू अमृत खरेल र जोसेफ सिल्भानुसले सम्बोधन गर्दै सम्मिश्रित वित्तका सम्बन्धमा अझ प्रकाश पारेका थिए ।
कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले कार्यक्रमका प्रस्तुतिकर्ता तथा सहभागी सबैलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै आफ्ना भनाइ राखेका थिए । उनले नेपाल सरकारको पुँजीबजारसम्बन्धी विषयको सल्लाहकार तथा पुँजी बजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रमअनुरूप यस विषयलाई अगाडि बढाइएको व्यहोरा स्पष्ट पारे । साथै उनले सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रूपमा विकास भएको र यसको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पुँजी प्रवाहमा गतिशीलता आउने तथा निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने धारणा समेत व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमका प्रस्तुतिकर्ता तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै बोर्डले सम्मिश्रित वित्त व्यवस्थाका सम्बन्धमा उत्प्रेरकको भूमिका निर्वाह गर्न खोजेको धारणा राखेका थिए कार्यक्रमको सञ्चालन बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले गरेका थिए ।