बग्दाद । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । सिन्ह्वाका अनुसार इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९ का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बग्दादबाट करिब तीन सय ७५ किलोमीटर टाढा रहेको छ ।
विशेषगरी कोभिडका बिरामीहरुको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । नासियारा सहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ । उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का संक्रमितहरुलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१ जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही बिरामीहरु घाइते भएका छन् ।
अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्नसक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक नै बोलाएका थिए । त्यस्तै इराकको संसदका सभामुखले सोमबार राति ट्वीट गर्दै इराकी संसदको बैठकमा मंगलबार सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिएका थिए ।