काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याटबिल बनाई करिब ६७ करोड रुपैयाँबराबर राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी राजस्व छली गर्ने सर्लाही ब्रम्हपुरी ७ स्थित मनिराज सप्लायर्सका सञ्चालक राज देवी तथा तथा उक्त फर्मको मुख्य कारोबार गर्ने राजाराम महतोविरुद्ध ४१ करोड ५१ लाख ३१ हजार आठ सय ५४ रुपैयाँबराबर बिगो माग गर्दै विभागले बुधबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । रौतहट जिल्ला तेजपाकड ५ का शिव ट्रेडर्सका सञ्चालक तथा अल्का सप्लायर्सका मुख्य कारोबारी ओमप्रकाश सिंह भूमिहारविरुद्ध २५ करोड ३५ लाख ४१ हजार पाँच सय ८४ रुपैयाँबराबर बिगो असुल र जरिबाना माग गरी विभागले मुद्दा दर्ता गराएको छ ।
मनिराज सप्लायर्सका सञ्चालक राज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने राजाराम महतो र शिव ट्रेडर्स तथा अल्का सप्लायर्स सञ्चालक ओमप्रकाश सिंह भूमिहारले मालवस्तु खरिद तथा आयात नगरी झुटा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक मात्र जारी गरेको विभागले दायर गरेको मुद्दाको विवरणमा उल्लेख छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२) को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), ख बमोजिम कसुर गरी राजस्व चुहावट गरेको पाएसँगै अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।