नयाँ दिल्ली । खाद्य वस्तु डेलिभरी सेवा प्रदान गर्ने जोमाटो एपले एक अर्ब २० करोड अमेरिकी डलरबराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गरेको छ ।
जोमाटो भारतकै ठूलोमध्येको एउटा स्टार्टअप कम्पनी हो । कम्पनीले संस्थागत लगानीकर्ताबाट ५६ करोड २३ लाख अमेरिकी डलर उठाएको छ । यी लगानीकर्ताले आईपीओ लगानीकर्ताको तुलनामा ३५ गुणा धेरै खरिद गरेको बताइएको छ । यता विश्लेषकहरुले भने घाटामा गएको कम्पनीको धेरै मूल्यांकन भएकोमा चिन्ता व्यक्त गरेका छन् ।
जोमाटो ज्याक माको एन्ट ग्रुपको लगानी रहेको कम्पनी हो भने आईपीओ जारी गर्ने भारतकै ठूलोमध्येको कम्पनी हो । जोमाटोपछि भुक्तानी सेवा प्रदायक पेटीएम र अनलाइन सौन्दर्य सामग्रीको खुद्रा बिक्रेता नाइकाले पनि आईपीओ जारी गर्ने तयारी गरेको बताइएको छ ।
जोमाटोको तीनदिने निष्काशनमा प्रतिकित्ता सेयर मूल्य ७२ देखि ७६ भारुसम्ममा कारोबार हुनसक्ने बताइएको छ । आईपीओ निष्काशनसँगै कम्पनी नौ अर्ब अमेरिकी डलर मूल्यवान् बनेको छ । सेयर कारोबार भने जुलाई २७ देखि सुरु हुन सक्नेछ ।
बुधबार मध्याह्नसम्म लगानीकर्ताले जारीमध्ये २९ प्रतिशत सेयर खरिद गरिसकेका छन् । कम्पनीका सेयरको माग बलियो समेत देखिएको बताइएको छ । कम्पनीको सेयरमा स्वदेशी र विदेशी दुवै लगानीकर्ता आकर्षित भएका छन् ।