काठमाडौं । ज्योति विकास बैंक र नेपाल एसोसियेसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)बीच सहकार्यको लागि सम्झौता भएको छ । नाटाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र नेपाल एसोसियेसन अफ टुर एण्ड ट्राभल एजेन्टका तर्फबाट नाटाका अध्यक्ष अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार बैंकले नाटामा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरू र सहज वित्तीय सेवाहरू प्रदान गर्नेछ । साथै ज्योति विकास बैंकले नाटाअन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरी व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।
व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टससँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।