काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोरअन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडकखण्डको कार्यसम्पन्न बिहीबार हस्तान्तरण गरेको छ । सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख विष्णुदास लामालाई एक कार्यक्रमका बीच उक्त सडक हस्तान्तरण गरेका हुन् ।
२०७१ साल चैत ९ गतेबाट निर्माण सुरु गरिएको कुल १२२ दशलमव ७५ किमि लम्बाइ र औसत ६ मिटर चौडाइ रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ । यस सडकखण्डको निर्माणपश्चात् राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हुम्लाको तँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्जालमा जोडिएका छन् ।