काठमाडौं। एनएमबी बैंकले बैंकिङ जगतमै पहिलो पटक पूर्णरूपमा आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा एनएमबी सापटी सेवा लिने ग्राहकको संख्या एक हजार पुगेको र जसअन्तर्गत छ करोडभन्दा बढी कर्जा प्रवाह भइसकेको जनाएको छ । उक्त कर्जाअन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपविना डिजिटलरूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ ।
नेपालमा एक करोडभन्दा बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिन सफल रहेको देखिन्छ । डिजिटल कर्जामा ग्राहकहरूको खासै पहुुँच नदेखिएको अवस्थामा एनएमबीले भने एनएमबी सापटी योजनामार्फत जनचेतना अभिवृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरूलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ ।
एनएमबी सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै यस बैंकमा तलब खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितोविनाको कर्जा हो ।
एनएमबी बैंकमा तलब खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरूलाई २४ महिनासम्मको लचिलो अवधिसहित क्रमशः एक लाख र दुई लाख सम्म २४ अै घण्टा र ७सै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइएको छ । ग्राहकहरूले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् । अन्त्यमा, सुरक्षित रही डिजिटल संरचनाहरूको प्रयोग गर्न, सुरक्षासम्बन्धी नियम पालना गरी आफू र आफ्नो परिवारलाई कोभिडको महामारीबाट सुरक्षित हुने उपायहरू अवलम्बन गर्न समेत बैंकले अनुरोध गरेको छ ।