कोलम्बो । श्रीलंकाका ३० बर्षमाथीका कुल मानिस मध्ये ३६ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सिन्ह्वाका अनुसार देशको स्वास्थ्य प्रवर्द्धन विभागले उनीहरुले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो । विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ । तीमध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको पनि विभागले जानकारी दिएको छ ।
‘देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तीमा एउटा खोप पाएका छन् भने ती मध्ये २१ प्रतिशतले दुवै खोप लगाएका छन्’, एक अधिकारीले भने । श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सवैलाई खोप लगाउने अभियान चलाइएको जानकारी दिएका छन् । आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सबैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विशेष संयन्त्र समेत परिचालन गरिएको उनले बताए ।