ललितपुर। उच्च अदालत पाटनले यही साउन १ गते पत्रकार सम्मेलन गरी वर्षभरि आफूले गरेका फैसला र कामकारबाहीको वार्षिक समीक्षा सार्वजनिक गरेको छ । अदालतका वरिष्ठतम न्यायाधीश माधव प्रसाद पोखरेलको उपस्थितिमा भएको उक्त वार्षिक समीक्षा पत्रकार सम्मेलनमा उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले वार्षिक कार्यविवरण प्रस्तुत गरेका थिए र कार्यक्रमका सहभागीहरूलाई न्यायाधीश पोखरेलले सधैँझैँ मिडियाबाट सहयोगको अपेक्षा गरे ।
वार्षिक विवरणअनुसार गत आर्थिक वर्षमा कुल छ हजार तीन सय ६६ वटा फैसला भएको छ । उक्त फैसला वार्षिक लक्ष्यको तुलनामा ५४ दशमलव ४९ प्रतिशत हो । गत आर्थिक वर्षमा जिम्मेवारीबाट सरेको छ हजार नौ सय ९१ र आर्थिक वर्ष २०७७/०७८ मा छ हजार नौ सय ६८ वटा मुुद्दा समेत गरी जम्मा लगत १३ हजार नौ सय ३२ रहेको थियो । सोमध्ये सात हजार छ सय आठवटा लगतको फैसला हुुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा उच्च अदालत पाटनको वार्षिक फछ्र्योट लक्ष्य भने ११ हजार छ सय ८२ रहेको थियो ।
उच्च अदालत पाटनका अनुसार गत वर्षमा कुल छ हजार तीन सय ६६ वटा फैसला भएकोमा सबैभन्दा बढी फैसला गर्नेमा न्यायाधीश कुुलप्रसाद शर्मा रहेका छन् । शर्मा एक्लैले कुल फैसला संख्याको १० दशमलव ३३ प्रतिशत अर्थात् छ सय ५८ वटा फैसला गरेका छन् । सबैभन्दा बढी फैसला गर्नेमा न्यायाधीश किरण पौडेल भने दोस्रो स्थानमा परेका छन् । न्यायाधीश पौडेल एक्लैले कुल फैसला संख्याको १० दशमलव १६ प्रतिशत अर्थात् छ सय ४७ वटा फैसला गरेका छन् ।
यसैगरी न्यायाधीश माधवप्रसाद पोखरेलले पनि कुल फैसला संख्याका नौ दशमलव ९८ प्रतिशत अर्थात् छ सय ३४ वटा फैसला गरेका छन् । यसैगरी न्यायाधीश महेश शर्मा पौडेलले पनि कुल फैसला संख्याको नौ दशमलव ९६ प्रतिशत अर्थात् छ सय ३४ वटा फैसला गरेका छन् । न्यायाधीश नीलम पौडेलले भने कुुल फैसला संख्याको आठ दशमलव ५० प्रतिशत अर्थात् पाँच सय ४१ वटा फैसला गरेको उच्च अदालत पाटनको न्यायाधीशगत फैसला विवरणमा उल्लेख छ । सबैभन्दा बढी फैसला गर्ने न्यायाधीश कुल प्रसाद शर्मालाई प्रशंसापत्र प्रदान गरिएको छ ।
कोभिड १९ को विश्वव्यापी महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा पनि कुल आठ सय १८ वटा मुद्दा दायर भएकोमा पाँच सय १९ वटा मुद्दाको फैसला भएको उच्च अदालतले जनाएको छ । उच्च अदालतको अभिलेखसम्बन्धी विवरणअनुसार अभिलेख शाखामा दर्ता भएको जम्मा मिसिल संख्या एक लाख ५६ हजार नौ सय १२ रहेको छ । सोमध्ये सफ्टवेयरमा इन्ट्री भएको जम्मा मिसिल संख्या एक लाख ५५ हजार दुई सय १२ रहेको छ भने सफ्टवेयरमा इन्ट्री हुन बाँकी जम्मा मिसिल संख्या एक हजार सात सय रहेको छ ।