बिराटनगर । गत आर्थिक वर्षमा कोरोना महामारीले आर्थिक क्षेत्रलाई तहसनहस बनाएको बेलामा पनि राजस्व संकलनमा आन्तरिक राजस्व कार्यालय विराटनगर प्रदेश नम्बर १ मै सफल बन्नपुगेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले गत आर्थिक वर्ष ०७७/०७८ को साउनदेखि असार मसान्तसम्ममा २८ प्रतिशतले राजस्व वृद्धि गर्न सफल भएको प्रमुख कर अधिकृत विमल सापकोटाले जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा आठ अर्ब ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । उक्त अवधिमा आराकाले आठ अर्ब ९३ करोड राजस्व असुल गरी कुल राजस्वको २८ प्रतिशतले राजस्व संकलन वृद्धि गरेको प्रमुख कर अधिकृत सापकोटाले जानकारी दिए ।
विश्वभरि फैलिएको कोभिड १९ का कारण अर्थतन्त्र नै धराशायी बन्नलागेको अवस्थामा आन्तरिक राजस्व कार्यालय विराटनगरले कुल वार्षिक राजस्वको लक्ष्यभन्दा २८ प्रतिशतले वृद्धि गर्न सफल भएर प्रदेश नम्बर १ मै उत्कृष्ट बन्न सफल भएको बताइएको छ ।
मदिराजन्य उद्योगलगायत सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरूमा कोभिड १९ का कारण परेको असरले गर्दा पूर्ण क्षमतामा नचल्दा गएको एक वर्षमा राजस्व संकलनको कार्य अत्यन्तै जटिल भएको पनि सापकोटाले जानकारी दिए । तर पनि उद्योगी तथा व्यवसायीबाट भएको इमान्दारितापूर्वकको सहयोगका कारण आफ्नो लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको सापकोटाले बताए ।
आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्मको १ वर्षमा आयकरबापत दुई अर्ब ७१ करोडको लक्ष्य लिएकोमा उक्त लक्ष्यभन्दा ३३ प्रतिशतले राजस्व वृद्धि गर्दै तीन अर्ब ५२ करोड राजस्व संकलन गर्न कार्यालय सफल भएको छ । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ६१ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा दुई अर्ब ५३ करोड राजस्व संकलन भएको छ ।
मूल्य अभिवृद्धि करको संकलन आर्थिक वर्ष ०७६/०७७ भन्दा ३७ प्रतिशतले बढेको हो । अन्तःशुल्कतर्फ भने चार अर्ब ५१ करोडको लक्ष्य रहेकामा दुई अर्ब ८७ करोड राजस्व संकलन भएको छ । अन्तःशुल्कतर्फ राजस्व संकलनमा केही कमी देखिए पनि टोटल राजस्व संकलनमा आर्थिक वर्ष ०७६/०७७ भन्दा गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा २८ प्रतिशतले अन्तःशुल्क वृद्धि भएको छ ।