दोलखा । निर्माण सुरु गरिएको १२ वर्षपछि सिंगटी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका र विगु गाउँपालिकामा निर्माण गरिएको सिंगटी जलविद्युत् आयोजनाले २५ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हो ।
गत फागुनमा पहिलो परीक्षण गरिएको १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बिहीबारदेखि भने सफल उत्पादनसहित सञ्चालनमा आएको छ । आयोजनाका अनुसार १५ दिनसम्म परीक्षण उत्पादन जारी रहने र त्यसपछि व्यावसायिकरूपमा विद्युत् उत्पादन सुरु गरिनेछ । साउन दोस्रो सातादेखि व्यापारिक विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ ।
प्रसारण लाइनको समस्याले डेढ वर्षअघि नै निर्माण सम्पन्न भएको आयोजनाले विद्युत् उत्पादन गर्न नसक्दा लगानीकर्ता निराश देखिएका थिए । प्रसारण लाइनको समस्याले यो अवधिमा विद्युत् बिक्रीबाट हुने करिब एक अर्ब रुपैयाँबराबरको आम्दानी गुमेको आयोजना निर्माण कम्पनीका निर्देशक गणेश कार्कीले बताए । विद्युत् बिक्री गर्न नपाउँदा बैंकको ब्याज बढेर आयोजनाको लागत पनि बढेको उनले बताए । विद्युत् प्रसारण प्रणालीमा जोडिएपछि आयोजनाले वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । यस आयोजनाको निर्माण सुरु भएदेखि नै विभिन्न विवादमा परेर काम पटक–पटक रोकिँदै आएको थियो ।