काठमाडौं । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले असार ३१ गतेबाट ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुजमणि तिमिल्सिनालाई शुक्रबारदेखि लागू हुनेगरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।
३५ वर्षको लामो बैंकिङ करियरलगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रूपमा २१ वर्षको बृहत् कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको जानकारी बैंकले दिएको छ । उनको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा ७ सात विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।
बैंकको सञ्चालक समितिको बैठकमा सुरेन्द्र भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरू वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट बिदा लिन चाहेको जानकारी गराउँदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका छन् ।