काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरू– ‘सुपर प्रिमियम बचत खाता’ र ‘खुत्रुके खाता’ (रिकरिङ डिपोजिट) ल्याएको छ । न्यूनतम मौज्दात २५ हजार रुपैयाँ रहेको ‘सुपर प्रिमियम बचत खाता’मा बैंकले वार्षिक छ दशमलव एक प्रतिशतको सर्वाधिक ब्याजदरसहित ‘मेटलाइफ’ सँगको सहकार्यमा छवटा घातक रोगहरू (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुुई लाख रुपैयाँसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ साथै निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्नेछ ।
त्यसैगरी खुत्रुके खातामा अन्य बैंकहरूले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरूमा जस्तैः सर्त तथा बन्देजहरू नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्यूनतम पाँच सयदेखि माथि सञ्चय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणवश जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापश्चात् सावा तथा ब्याजको एकमुष्ट भुक्तानी पाउनेछन् । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा एक प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केहीगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा सञ्चित रकमको ७० प्रतिशत ऋणमा नै विनाझन्झट रकम निकाल्न सकिन्छ ।
यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि आठ दशमलव ७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आइरहेको छ । विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरूद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मिहिनेतको कमाइलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरू लाभान्वित हुने कुरा बैैंकका प्रमुख डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला ब. विष्टले बताए ।
जेष्ठ मसान्तसम्म निक्षेपतर्फ २८ अर्ब ७९ करोड अर्थात् ४७ दशमलव ८८ प्रतिशत र कर्जातर्फत २९ अर्ब ७६ करोड अर्थात् ५५ दशमलव २८ प्रतिशत वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरूको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी एक दशमलव १३ प्रतिशतमा सीमित गर्न सफल भएको छ । गत असार मसान्तमा उक्त अनुपात दुुई दशमलव ३८ प्रतिशत रहेको थियो । बैंकले ग्राहकहरूलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा-योजनाहरू प्रदान गर्दै जाने पनि बताएको छ ।