काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १९ करोड रुपैयाँबराबरको चेकसहित मिटरब्याजीलाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार आठ सय ६० रुपैयाँबराबरको चेकहरूसहित दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई काठमाडौं महानगरपालिका–७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाइल्स प्रालिबाट शुक्रबार पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटरब्याज लगाई प्रकाशबाट चार करोड १६ लाख रुपैयाँको चेकहरू र हेमराजबाट चार करोड १४ लाख रुपैयाँको चेकहरु लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको सूचनापछि सीआईबीले संलग्नलाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ । यसैबीच फरार प्रतिवादी सन्तोष कुमार मिश्रलाई पनि पक्राउ परेका छन् ।
महोत्तरी साबिक पिपरा गा.वि.स. वडा नं.९, हाल पिपरा गाउँपालिका वडा नं. ३ बस्ने मिश्रलाई पक्राउ गरी यस कार्यालयमा उपस्थित गराई दिनुहुन भनी जिल्ला प्रहरी कार्यालय महोत्तरी, अ.अ. तथा कारबाही शाखाबाट अनुरोध भई आएकोमा निज प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले साउन ३ गते आइतबार काठमाडौं बूढानीलकण्ठ न.पा. वडा नं. ०८ हात्तीगौँडामा लुकीछिपी बसिरहेको अवस्थामा मिश्रलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोही जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको सीआईबीले जानकारी दिएको छ । मिश्रलाई लेनदेन बिगो मुद्दामा ४५ लाख र सोको हुने ब्याज समेत भराउने भनी महोत्तरी जिल्ला अदालत महोत्तरीबाट २०७६ असार १२ गते फैसला भएको थियो ।