काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः पाँच अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा पुरानो नवीकरणअन्तर्गतको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २९ गते पनि राष्ट्र बैंकले २२ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति साउन ५ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको २० करोड रुपैयाँको रहेको छ । राष्ट्र बैंकका अनुसार ती ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः यही १ गते र आगामी कात्तिक २ गते तोकिएको छ ।
यसअघि यही असार २९ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।