काठमाडौं । मोरङ व्यापार संघले जिल्लाका आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड १९ का कारण प्रभावित विपन्न तथा असहाय वर्गहरुलाई वितरण गर्ने उद्देश्यले आफ्ना नौवटा शाखामार्फत उक्त राहत सामग्रीहरु हस्तान्तरण गरेको हो ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम संघका का.का. सदस्य एवं शाखा संयोजक नवराज चापागाईंले संयोजन गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष मुन्दडाले आफ्ना शाखाहरु, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटांग उद्योग वाणिज्य संघ, बेलबारी उद्योग वाणिज्य संघ, उर्लाबारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार संघ, इटहरा उद्योग वाणिज्य संघ, केराबारी व्यापार प्रबन्ध समिति, रंगेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरुलाई चामल, दाल, तेल, बिस्कुट, चाउचाउ, नुन, मास्क आदि सामग्रीहरुसहितको करिब चार सय थान राहत सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष (उद्योग) अनुपम राठी, महासचिव अनिल कुमार साह, कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।