ढाका । बंगलादेशले चीनको सिनोफार्म कम्पनीद्वारा विकसित तथा उत्पादित कोभिड–१९ विरूद्धका खोपको थप संख्याहरूलाई भित्राएको आइतबार जानकारी गराएको छ । देशको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयको एक विवरणका अनुसार चिनियाँ सिनोफर्म खोपको एक चरण शनिबार बिहान ११ः०० बजे ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो भने अर्को एक चरण स्थानीय समय अनुसार आइतबार बिहान ३ः०० बजेतिर आइपुगेको हो ।
वाणिज्य सम्झौताको एक हिस्साको रूपमा बंगलादेशले यसअघि दुई पटकसम्म सिनोफार्म खोप प्राप्त गरिसकेको छ । भारतमा कोभिड संक्रमणको अत्यधिक समस्या देखिएको कारण स्वदेशमा नै आपूर्तिमा कमी आउँदा निर्यातलाई रोक लगाएपछि बंगलादेशले भारतबाट ल्याउने भनेको खोप उपलब्ध हुन सकेको थिएन ।
बंगलादेशलगायत एशियाली मुलुकहरूमा भारतबाट खोप आपूर्ति हुन नसकेपछि ती मुलुकहरूले खोप अभियानका लागि बनाएको योजना नै प्रभावित भएको थियो । भारतबाट खोप उपलब्ध नभइरहेका समय बंगलादेशको औषधि नियामक संस्थाले चीनको सिनोफार्म खोपको आपतकालीन प्रयोगको लागि अधिकार दिएको थियो । त्यसपछि गत महिना बंगलादेशले एउटा महत्वपूर्ण घडीमा चीनले सिनोफार्म खोप सहयोग गरेको कारण बंगलादेशका केही भागमा पहिलो पटक कोभिड–१९ खोपको लगाउने व्यवस्था भएको हो ।
स्वास्थ्य सेवा महानिर्देशालय (डीजीएचएस) को शनिबार जारी एक विज्ञप्तिमा बंगलादेशका करिब ४३ लाख मानिसहरूलाई दुवै मात्रा खोप लगाइएको छ । बंगलादेशमा शनिबार आठ हजार चार सय ८९ नयाँ संक्रमित भएका छन् भने दुई सय चार बढीको मृत्यु भएको छ । अहिलेसम्म बंगलादेशमा १० लाख ९२ हजार चार सय ११ संक्रमित बनेका छन् भने १७ हजार छ सय ६९ जनाको मृत्यु भएको महानिर्देशनालयले जानकारी गराएको छ । रासस/सिन्ह्वा