काठमाडौं । यती एयरलाइन्स प्रालिको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरेको छ । निजी क्षेत्रको हवाइ संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । सो ट्राफिक बत्तीको बिहीबार यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले सहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न संघ÷संस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताए । ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासित सिकाउने अपेक्षा लिएको उनको भनाइ छ ।
यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रिमालले यती एयरलाइन्सले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्ट भित्रिने मुख्य प्रवेशद्वारमा ट्राफिक बत्ती जडान गरेको बताए । एयरलाइन्सका प्रशासन निर्देशक अन्जन बड्गामीले यतीले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।
काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले यसको संरक्षण र निरन्तरताका लागि वडाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा एयरलाइन्सका सीईओ रिमालले ट्राफिक संकेत बत्ती कन्ट्रोल स्विचको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गरेका थिए । यती एयरलाइन्सले यसभन्दा पहिले ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आइल्यान्ड निर्माण गर्नुका साथै ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट जकेट वितरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।