काठमाडौं । कोभिडले थलिएको अर्थतन्त्र उकास्न र व्यापारघाटा कम गर्न बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्नुपर्नेमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जोड दिएको छ । महासंघको अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न र बाह्य व्यापारमा देखिएको अत्यधिक घाटालाई कम गर्न अवलम्बन गरिनुपर्ने उपायहरुबारे सुझाव प्रस्तुत गरेको छ ।
मुलुकको कुल बाह्य व्यापारमा असन्तुलन बढेर आयात ९२ प्रतिशत र निर्यात ८ प्रतिशतमा सीमित हुनपुगेको गम्भीर अवस्थालाई दृष्टिगत गरी अर्थतन्त्रमा महत्वपूर्ण रुपमा मूल्य अभिवृद्धि गर्नसक्ने बहुमूल्य वस्तुहरुको निर्यातलाई प्रोत्साहित गर्नुपर्नेमा महासंघले जोड दिएको छ । स्वदेशी भूगर्भमा थुप्रै प्रकारका बहुमूल्य धातु तथा रत्न, पत्थर आदि रहेको अनुसन्धानबाट पुष्टि भएको अवस्थामा पनि हाल त्यसको उत्खनन गर्न सकिएको छैन । महासंघका अनुसार देशभित्र वर्षेनी अर्बौँ मूल्यका सुन, चाँदी, रत्न, पत्थर आदि बहुमूल्य वस्तुहरु आयात भइरहेको छ ।
स्वदेशी बहुमूल्य धातुहरुको उत्खनन र प्रशोधन भएमा आयात प्रतिस्थापनमा ठूलो टेवा पुग्ने र निर्यात पनि गर्न सकिने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक बहुमूल्य गहनाप्रति ठूलो आकर्षण छ । नेपालबाट निकासी हुने अन्य वस्तुले पाएसरहको सुविधा पनि बहुमूल्य गहनाको निकासीमा उपलब्ध छैन । अर्थतन्त्रमा बढी लाभ दिनसक्ने क्षेत्र नै कुण्ठित भएकोले निर्यात व्यापारले गति लिनसकेको छैन । कम तौल र उच्च मूल्यका बहुमूल्य गहनाको निर्यातलाई प्रोत्साहित गर्नु जरुरी रहेको महासंघको भनाइ छ ।
यस्तै महासंघले सुनको आयातमा कोटा निर्धारण गरी बढ्दो मागलाई नियन्त्रण गरिएको र आयातको एकाधिकार वाणिज्य बैंकहरुलाई मात्रै दिइएकोले बहुमूल्य गहनाको कच्चा पदार्थको आपूर्तिमा अन्योलको स्थिति उत्पन्न हुने गरेको जनाएको छ ।
यस्तो असन्तुलित परिस्थितिको फाइदा अवैध कारोबारीले उठाइरहेकोले राजस्वमा ठूलो घाटा भइरहेको महासंघको भनाइ छ । मागको अनुपातमा आपूर्तिलाई सहज तुल्याउन कोटा बढाउन वा बैंकको एकाधिकार अन्त्य गरी सुन आयातलाई ओपन जेनेरल लाइसेन्सअन्तर्गत ल्याइनुपर्नेमा महासंघले जोड दिएको छ । प्रतिनिधिमण्डलमा महासंघका प्रथम उपाध्यक्ष राम प्रसाद विश्वकर्मा र सह–कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा सहभागी थिए ।