काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औँ वार्षिकोत्सवका अवसरमा आगामी पाँच वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।
‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोहीअनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात् गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौँ,’ अध्यक्ष शाहले भने–‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवद्र्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रित गर्छौँ ।’
मेगा बैंकका अध्यक्ष शाहले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना तथा मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
‘युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ’– उनले भने । मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रहेको अध्यक्ष शाहले बताए । ‘यसबीचमा मेगा बैंकले वित्तीय बजारमा छुट्टै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ’– अध्यक्ष शाहले भने ।
मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयरधनीहरू, सञ्चालक समिति, ग्राहकहरू, नियामक निकाय, कर्मचारी वर्ग र सरोकारवालाहरूहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११औँ वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् ।
मेगा बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्राण्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको बताइन् । आधुनिकीकरण र प्रविधीकरणलाई आत्मसात् गर्दै मेगा बैंकले ग्राहकहरूलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सीईओ खुञ्जेलीले बताइन् ।
‘कोभिड– १९ को विद्यमान अवस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेसनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसैअनुरूप ग्राहकहरूलाई लक्षित गर्ने योजना बनाएका छौँ’– सीईओ खुञ्जेलीले भनिन् ।
सञ्चालनको ११ वर्षको छोटो अवधिको वित्तीय सूचकांकलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाइ हासिल गर्न सफल भएको छ भने आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरूलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको छ । जसले गर्दा कोभिड १९ को महामारीको मारमा परेका कर्जा ग्राहकहरू र नयाँ व्यावसाय विस्तार गर्ने तयारीमा रहेका ग्राहकहरूलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराइरहेको छ ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको ११ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको छ । देशको २८औं वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौँ स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब एक खर्ब ४५ अर्ब र कुल कर्जा करिब एक खर्ब ४१ अर्ब रहेको छ ।
मेगा बैंकले १७ सयभन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका एक सय ७८ शाखा सञ्जाल, एक सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्सन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । छिटै नै बैंकका थप १४ वटा शाखाहरू सञ्चालनमा आउँदै छन् ।