लन्डन । बेलायती प्रविधि व्यवसायी माइक लिन्चलाई अमेरिका सुपुर्दगी गर्ने बाटो खुलेको छ । लन्डनको एउटा अदालतले सफ्टवेयर कम्पनी अटोनोमीका संस्थापक लिन्चलाई धोकाधडी र ठगीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न सकिने जनाएको हो ।
अटोनोमी लिन्चले अमेरिकी कम्प्युटर कम्पनी ह्युलेट प्याकार्डलाई सन् २०११ आठ अर्ब ४० करोड अमेरिकी डलरमा बिक्री गरेका थिए । लिन्चले भने कम्पनीको बिक्रीअघिको मूल्यांकन नबढाएको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् । उनका कानुन व्यवसायी क्लिफोर्ड चान्सका क्रिस मोर्भिलोले अदालतको यस्तो आदेशविरुद्ध असन्तुष्टि जनाएको र चाँडै अपिल गर्ने बताए । लिन्चले लन्डनको उच्च अदालतमा आफूमाथि लागेको अभियोगको सामना गरिरहेका छन् । उक्त सम्झौतालाई लिएर एचपीले पनि क्षतिपूर्तिको लागि मुद्दा हाल्ने तयारी गरिरहेको छ । उता अमेरिकी न्याय विभागले उनीविरुद्ध छुट्टै अपराधको मुद्दा हाल्ने तयारी गरिरहेको छ ।
अटोनोमी उनले सन् १९९६ मा स्थापना गरेका थिए । यसले असंरचित डेटास्रोतबाट काम लाग्ने सूचना निकाल्ने सफ्टवेयरको विकास गरेको थियो । फोन कल, इमेल र भिडियोबाट यस्ता सूचना उक्त सफ्टवेयरले निकाल्ने गरेको थियो । यसलाई एचपीले किन्नुअघि अमेरिकाको सनफ्रान्सिस्को र बेलायतको क्याम्ब्रिजमा मुख्यालय रहेको थियो ।
सन् २०१० मा अटोनोामीको ६८ प्रतिशत राजस्व अमेरिका र अन्य क्षेत्रबाट प्राप्त भएको थियो । एचपी र अमेरिकी अभियोजनकर्ताले लिन्च र कम्पनीका अन्य पूर्वकार्यकारीविरुद्ध सन् २००९ देखि २०११ को बीचमा कम्पनीको राजस्वको उच्च मूल्यांकन गरेको र क्रेता कम्पनी एचपीले धेरै मूल्य तिर्नुपरेको आरोप लगाएका छन् । तर लिन्च भने कम्पनी बिक्रीपछि त्यसको गलत व्यवस्थापन गरेको आरोप लगाउँछन् ।