अमेरिका । टेस्लाले फेरि बिटक्वाइन स्वीकार्ने संकेतसँगै बिटक्वाइनको मूल्य उकालो लाग्न सुरु भएको छ । टेस्लाका प्रमुख एलन मस्कले डिजिटल मुद्रालाई भुक्तानीका रुपमा स्वीकार्नसक्ने बताएसँगै यसको मूल्य बढेको हो ।
विद्युतीय कार निर्माता कम्पनीले गत मे महिनामा कार किनबेचमा बिटक्वाइन नस्वीकार्ने बताएको थियो । त्यतिबेला कम्पनीले बिटक्वाइन माइनिङको वातावरणीय प्रभावप्रति ध्यानाकर्षण गर्दै उक्त भनाइ व्यक्त गरेको थियो । माइनिङमा ठूलो परिमाणमा विद्युत् प्रयोग हुने गरेको र त्यसको स्रोत कोइलालगायतका साधन भएकाले त्यसले वातावरणमा प्रभाव परेको थियो ।
बिटक्वाइनबाटै कार किन्न सक्ने निर्णय गरेको टेस्लाले त्यसको दुई महिनामै निर्णय फिर्ता लिएको थियो । ‘टेस्लाले बिटक्वाइन चाँडै स्वीकार्नसक्छ’, मस्कले बी वर्ड क्रिप्टोकरेन्सी सम्मेलनमा भने । उनले परम्परागत इन्धनको प्रयोगबारे अनुसन्धान जारी रहेको समेत मस्ककोा भनाइ छ ।
बिटक्वाइन स्वीकार्ने निर्णयमा केही टेस्लाकै लगानीकर्ताले समेत आपत्ति जनाएका थिए । मस्क र टेस्लासँगै अर्को कम्पनी स्पेस एक्सले बिटक्वाइन, डजक्वाइन र एथेरियम नामका डिजिटल मुद्रा किनेका छन् । मस्कको उक्त प्रतिक्रियासँगै बिटक्वाइन छ प्रतिशतले बढेर ३१ हजार नौ सय ५२ अमेरिकी डलर, एथेरियम १०.६ प्रतिशतले बढेर एक हजार नौ सय ७९ अमेरिकी डलर पुगेको बताइएको छ ।