काठमाडौँ । विश्व महामारी र यसबाट उत्पन्न भएको असहज परिस्थितिको अवस्थामा पनि सेयरबजार भने सहज देखिएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पछिल्लो ११ महिनाको प्रतिवेदनअनुसार अर्थतन्त्रका अन्य परिसूचकहरु कमजोर रहेको देखिए पनि धितोपत्र बजार भने गुल्जार देखिएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ को पछिल्लो ११ महिनामा धितोपत्र बजारमा कुुल तीन खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढीको सेयर सूचीकृत भएका छन् । यस अवधिमा दुई खर्ब १९ अर्ब ९५ करोड रुपैयाँबराबरको विकास ऋणपत्र, ४३ अर्ब ५८ करोडबराबरको बोनस सेयर, ४२ अर्ब १७ करोडबराबरको साधारण सेयर, १७ अर्ब ५५ करोडबराबरको डिबेन्चर, पाँच अर्ब ५२ करोडबराबरको हकप्रद सेयर र चार अर्ब १० करोडबराबरको म्युचुअल फण्ड गरी कुल तीन खर्ब ३२ अर्ब ८७ करोड रुपैयाँबराबरको थप धितोपत्र सूचीकृत भएका हुुन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २० अर्ब ५४ करोडबराबरको डिबेन्चर, १४ अर्ब पाँच करोडबराबरको हकप्रद सेयर, १३ अर्ब ५४ करोडबराबरको साधारण सेयर र आठ अर्ब ४० करोडबराबरको म्युचुअल फण्ड गरी कुल ५६ अर्ब ५३ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १३ सय ६२ दशमलव चार अंंकमा रहेको नेप्से सूचकांक २०७८ जेठ मसान्तमा तीन हजार २५ दशमलव आठ अंकमा पुगेको छ ।
२०७८ जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४२ खर्ब १६ अर्ब पुगेको छ ।२०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । २०७८ जेठमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय २० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँचवटा होटल, चारवटा व्यापारिक संस्था, पाँचवटा लगानी कम्पनी र तीनवटा अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा आठ दशमलव नौ प्रतिशत, लगानी कम्पनीको आठ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको तीन दशमलव सात प्रतिशत, होटेलको एक दशमलव पाँच प्रतिशत, व्यापारिक संस्थाको शून्य दशमलव छ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको नौ प्रतिशत रहेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ जेठसम्ममा सूचीकृत पाँच अर्ब ८२ करोड सेयरको चुक्ता मूल्य पाँच खर्ब ७२ अर्ब ९२ करोड रुपैयाँ पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।