काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी लगानीकर्ताहरूको लगानी सम्मेलन गर्ने तयारी गरेको जानकारी दिएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्ताहरूको सम्मेलन गरिँदै आएकोमा अब स्वदेशी लगानी सम्मेलन गरेर अर्थतन्त्रलाई गतिशील बनाउने सोचाइ आफूले बनाएको बताए । स्वदेशी लगानीकर्ताहरूलाई प्रोत्साहित गर्ने र गरिबी अन्त्य गर्ने उद्देश्यका साथ स्वदेशी लगानी सम्मेलन गर्ने सोचिएको उनको भनाइ थियो ।
भेटघाटको क्रममा चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष २० बुँदे सुझावपत्र पेस गरेको छ । चेम्बरले निजी क्षेत्रलाई कोभिड खोपमा प्राथमिकता दिनुपर्ने, कृषि क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने, निर्यात अनुदानको व्यवस्था गरिनुपर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमा रोजगार, नकारात्मक सूचीमा रहेका वस्तुबाहेक अन्य क्षेत्रको अन्तःशुल्क हटाउनुपर्नेलगायतका सुझाव दिएको छ । मन्त्री शर्माले चेम्बरको सुझाव अध्ययन गरी आवश्यक निर्णय गरिने बताए ।
भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नुपरेको वताए । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक क्रियाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्यूनतम १० प्रतिशत कोरोना खोप उपलब्ध गराउन उनले माग गरे । यस्तै अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेज घोषणा गर्न र सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराउन अर्थमन्त्रीसँग आग्रह गरे । आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशतभित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ऋण व्यवस्थापन गरिनुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी उनले घर जग्गा कारोबारलाई ब्रोकर लाइसेन्सको माध्यमबाट नियमन गरिनुपर्ने, डिजिटल कारोबारलाई प्राथमिकता दिइनुपर्ने तथा चेक अनादर भएमा चेक जारी गर्ने निकाय तथा व्यक्तिलाई कालोसूचीमा राख्ने, साना व्यवसायहरूलाई सहजीकरण गर्न कुल कारोबारको सिलिङ बढाउनुपर्ने सुझाव दिए । प्रतिनिधिमण्डलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्बरका सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेको तथा राजस्व समितिका सभापति पर्शुराम दाहाल सहभागी थिए ।