अमेरिका । सामाजिक सञ्जाल कम्पनी मार्क जुकरबर्गको सुरक्षामा एकै वर्षमा फेसबुकले दुई करोड बढी डलर खर्च गर्ने गरेको पाइएको छ । प्रोटोकल अनलाइनले जनाएअनुसार महामारीमा प्रविधि कम्पनीहरुका मालिकको सुरक्षा खर्च बढेको पाइएको हो ।
गत वर्ष अर्थात् सन् २०२० मा ११ प्रविधिसम्बन्धी कम्पनीका प्रमुख कार्यकारीको व्यक्तिगत सुरक्षामा चार करोड ६० लाख अमेरिकी डलर खर्च भएको छ । कोरोना महामारीमा यस्तो खर्च झनै बढेको पाइएको छ । चुनावी माहोल र कोरोना सुरक्षा कार्यविधिअनुसार फेसबुकले धेरै खर्च गर्नुपरेको जनाएको छ ।
फेसबकका मालिक मार्क जुकरबर्गको बजेट सन् २०१९ मा भन्दा सन् २०२० मा बढेको छ । २०१९ मा दुई करोड चार लाख डलर खर्च भएकोमा २०२० मा बढेर दुई करोड ३४ लाख डलर पुगेको प्रोटोकलले समाचारमा उल्लेख गरेको छ ।
फेसबुकका मालिकको व्यक्तिगत सुरक्षामा खर्च भएको यो प्रविधि क्षेत्रकै ठूलो परिमाण हो। जुकरबर्गले वर्षेनी एक करोड अमेरिकी डलर सुरक्षा खर्च पाउँछन्। त्यसमा कम्पनीले उनको सुरक्षाको लागि थप एक करोड ३४ लाख डलर सन् २०२० मा खर्च गरेको हो । उनीबाहेक फेसबकुकै शर्ल स्यान्डबर्गको पनि व्यक्तिगत सुरक्षामा गत वर्ष ७६ लाख डलर खर्च भएको छ।
महामारीमा यी कम्पनीका धेरै कर्मचारीले घरलगायत पायक पर्ने ठाउँबाटै कार्यालयको काम गरेका थिए । त्यसका लागि पनि सुरक्षा खर्च भएको बताइएको छ । उदाहरणका लागि उबरले प्रमुख कार्यकारी दारा खोस्रोसाहीको ‘होम अफिस इम्प्रुभमेन्ट’मै एक लाख २० हजार डलर खर्चिएको थियो भने घरको लागि सुरक्षा विशेषज्ञ खटाएको थियो ।
त्यस्तै यातायातसम्बन्धी कम्पनी लिफ्टका अध्यक्ष जोन जिमरको सुरक्षा खर्च पनि गत बढेको पाइएको छ । राइड हेलिङ कम्पनीले उनको सुरक्षाका लागि वर्षेनी २० लाख डलर खर्च गर्ने गरेको छ । कम्पनीकै सीईओ लोगान ग्रिनको वार्षिक बजेट झण्डै ६ लाख डलर रहेको छ । त्यस्तै अन्य कम्पनीहरुले पनि नयाँ सुरक्षा कार्यविधि ल्याएका थिए। महामारीमा सर्वाधिक चर्चा र प्रयोग भएको जुमले सीईओ एरिक युआनको व्यक्तिगत सुरक्षामा ६ लाख डलर खर्चिएको थियो। अमेजनका भावी सीईओ एन्डी जेसीको व्यक्तिगत सुरक्षामा पनि गत वर्ष ३० हजार ८ सय ३१ अमेरिकी डलर खर्च भएको थियो ।