काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले शुक्रबार गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो ।
यस अवधिमा बैंकको सेयर पुँजी दुई अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरूमा ४६ प्रतिशतको वृद्धिदरसहित एक अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदरसहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदरसहित ३५ अर्ब ९१ करोड पुगेको छ ।
बैंकले करपश्चात्को खुद नाफामा ४८ प्रतिशतको वृद्धिदर हासील गर्दै एक अर्ब ६६ लाख कमाएको छ । यससँगै बैंक एक अर्बभन्दा माथि नाफा आर्जन गर्ने वित्तीय संस्थाहरूको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आवमा मात्र एक अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८ प्रतिशतले बढी रहेको छ ।
पछिल्ला वर्षहरूमा बैंकको शाखा विस्तार, व्यवसाय तथा वित्तीय आकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तीन वर्षको वित्तीय विवरण विश्लेषण गर्र्दा बैंकको वासलातमा दुई सय २७ प्रतिशत, सेयर पुँजीमा एक सय ७६ प्रतिशत, कर्जा लगानीमा एक सय ९० प्रतिशत, निक्षेप संकलनमा दुई सय ३२ प्रतिशत र नाफामा दुुई सय १० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय परिचालन गर्ने बैंकको वित्तीय अवस्था ‘क’ वर्गका केही वाणिज्य बैंकहरूभन्दा समेत ठूलो र सुदृढ देखिएको छ ।
बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरू गरी करिब १४ हजार सदस्यहरू रहेका छन् । बैंकले सातवटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत आफ्ना सदस्यहरूलाई सेवा दिइरहेको छ ।
सहकारी संघ/संस्थाहरूको प्रवर्द्धन, विकास एवं बैंकिङ कारोबारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघसंस्थाहरूलाई दिने सेवामा सधैँ अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकरात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष केबी उप्रेतीले बताएका छन् । बैंकको वर्तमान सञ्चालक समितिको कार्यकालभित्र नै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी बैंक अघि बढेको समेत उप्रेतीले जानकारी दिए ।
बैंकले पछिल्लो तीन वर्ष लगातार १५ प्रतिशतले लाभांश वितरण गर्दै सेयर सदस्यहरूको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको जनाउँदै बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघसंस्थाहरूलाई सहकारी ऐनको व्यवस्थाअनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघसंस्थाहरूलाई संरक्षित पुँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।