काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दामा फरार रहँदै आएकी निता भण्डारीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुुमार महतोका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बूढानीलकण्ठ नगरपालिका–४ हात्तीगौँडा निवासी ४५ वर्षीया भण्डारीलाई आइतबार बूढानीलकण्ठबाट नै पक्राउ गरिएको हो ।
पक्राउ परेकी भण्डारीउपर बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत वैशाख ६ गते फैसला गर्दै चार दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । उच्च अदालतको फैसलापछि उनी फरार थिइन् ।
भण्डारीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै पीडितलाई झुक्याएर मुक्तिनाथ विकास बैंकको चेक काटिदिएकी थिइन् । भण्डारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए । यसैगरी सीआईबीले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका–२ बस्ने ३६ वर्षीय विजय श्याम रञ्जितलाई काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरेको छ ।
विजयले नेपाल मेडिकल काउन्सिल काठमाडौं बाँसवारीबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि दर्ता प्रमाणप्रत्र प्रवेश परीक्षामा अनुत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखत समेत किर्ते गरेको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रञ्जितलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महतोको भनाइ छ ।