काठमाडौं । नेपालको सबैभन्दा पहिलो र ठूलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको पहिलो र अग्रणी मोबाइल वालेट इसेवाबीच सहकार्य भएको छ । आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरू बिचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरूले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्नसक्ने भएका छन् । एक कार्यक्रममा फुडमाण्डू र इसेवाबीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो ।
सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरूलाई थप सुविधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरूले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्नेछन् । फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरूको रुचि बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ म्यानेजर श्यामरत्न मालीले बताए । हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भइरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ । यसले अब ग्राहकहरूलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ । इसेवाको बृहत् नेटवर्कमा भएका ग्राहकहरूले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एन्ड मार्केटिङ म्यानेजर मालीले भने ।
सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ । इसेवाका बिजिनेस डिभेलपमेन्ट हेड, अशिष प्रसाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरूलाई घरबाटै भुक्तानी गर्न सहज हुने अपेक्षा गरका छन् । कोरोना भाइरसको महामारीमा मानिसहरूले घरबाटै विभिन्न अर्डरहरूको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डूसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशी भएका छौं । यसले डिजिटल अभियानलाई सहयोग पु-याउनेछ । यस अवसर पारेर फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरूलाई पहिलो अर्डरमा २० प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट दिने घोषणा गरेको छ ।