नयाँ दिल्ली । एचडीएफसी बैंकका आदित्य पुरीले आर्थिक वर्ष २०२०/०२१ मा आफ्नो सेवानिवृत्तिको वर्षमा निजी क्षेत्रका शीर्ष तीन बैंकका अधिकारीमध्ये सबैभन्दा धेरै तलब बुझेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त वर्ष उनको कुल कमाइ १३ करोड ८२ लाख भारु रहेको छ । पुरीका उत्तराधिकारी शशिधर जगदीशनले पछिल्लो वर्ष चार करोड ७७ लाख भारु तलब बुझेका थिए । उनी २७ अक्टोबर २०२० मा उक्त बैंकको प्रमुख कार्यकारी र प्रबन्धनिर्देशक बनेका थिए । अवकाशका कारण पनि उनको तलब आकार बढेको हो ।
कोरोना प्रभावित समयमा आईसीआईसीआई बैंकका प्रबन्धनिर्देशक तथा सीईओ सन्दीप बख्शीले उक्त वर्ष आफ्नो भत्ता छोडेका थिए । बैंकका अनुसार उक्त बख्शीलाई उक्त वर्ष ३८ लाख ३८ हजार भारु लाभ रकम पाएका थिए । उनलाई अरु क्षेत्रबाट पनि ६३ लाख ६० हजार भारु मिलेको थियो । त्यस्तै निजी क्षेत्रको तेस्रो ठूलो एक्सिस बैंकका प्रमुख अमिताभ चौधरीले तलब भत्तास्वरुप उक्त वर्ष छ करोड ५२ लाख भारु मिलेको थियो ।