काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी शोभा गुरुङ पक्राउ परेकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार तनहुँको व्यास नगरपालिका स्थायी घर भएकी ४५ वर्षीया गुरुङलाई सोमबार ललितपुरको कुपन्डोलबाट पक्राउ गरिएको हो ।
सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसुरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिवादी गुरुङलाई ललितपुरको कुपन्डोलबाट पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
उनका अनुसार गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । गुरुङले आफ्नो खातामा पैसा नभए पनि पीडितलाई सानिमा विकास बैंकको चेक काटी दिई बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७७ चैत ३० गते प्रतिवादी गुरुङको हकमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरअन्तर्गत १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
यसैबीच सोमबार महानगरीय अपराध महाशाखा मिनभवनले पनि बैंकिङ कसुरमा फरार व्यक्ति लक्ष्मण गिरी पक्राउ गरेको जानकारी दिएको छ । महाशाखाका अनुसार उच्च अदालत पाटन ललितपुरको २०७७ चैत १६ गतेको फैसलाले १० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय तोकिएका फरार रहेका लमजुङ टक्सार निवासी गिरीलाई सोमबार काठमाडौको कलंकीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका गिरीलाई मंगलबार जिल्ला अदालतमा पेस गरिने महाशाखाले जानकारी दिएको छ । यसैबीच कसुरको अभियोगमा झापाबाट पनि एक व्यक्ति पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका–५ ठेगाना भएका ४७ वर्षीय विनोद कुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद, सात लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ पीडित राहतकोषमा क्षतिपूर्ति दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।