काठमाडौं । एक आर्थिक वर्षमा मुलुकको निर्यात व्यापारमा ४४.४३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (२०७७/०७८) को असार मसान्तसम्ममा निर्यात ४४.४३ प्रतिशतले वृद्धि हुँदा एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको भन्सार विभागले जानकारी दिएको छ । आर्थिक वर्ष (२०७६/०७७) को सोही अवधिमा ९७ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको थियो ।
निर्यात व्यापार बढ्दा पनि उच्च आयातका कारण मुलुकको व्यापारघाटामा रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा आयात व्यापारमा २८.६६ प्रतिशतले वृद्धि भएको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप गत आर्थिक वर्षको १२ महिनाको अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड आयात व्यापार रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।
निर्यातजन्य प्रमुख वस्तुमा सोयाबिन ओयल, पोलिष्टर/कटन यार्न, अलैँची, जुट, गलैँचालगायतका सामग्री छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्मको ५३ अर्ब ६५ करोड रुपैयाँको भटमासको तेल, करिब सात अर्ब रुपैयाँको पोलिष्टर यार्न, सात अर्ब एक करोड रुपैयाँको अलैँची निर्यात गरिएको छ ।
यसैबीच उच्च आयातकै कारण नेपालले भारतलगायत तेस्रो मुलुकसँगको व्यापारमा प्रायःजसो सदैव घाटा व्यहोर्नुपरेको छ । आर्थिक वर्ष (२०७७/०७८) को १२ महिनाको अवधिमा मुलुकको व्यापारघाटा २७.२६ प्रतिशतले बढेको विभागले जनाएको छ । आर्थिक वर्ष (२०७७/०७८) मा १३ खर्ब ९८ अर्ब ७१ करोड मुलुकले व्यापारघाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने १० खर्ब ९९ अर्ब आठ करोड रहेको विभागको तथ्यांक छ ।
नेपालमा प्रमुख आयातित फलामजन्य सामग्री, पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, कच्चा तेल, मोबाइल, एलपी ग्यास, तयारी कपडा, पेट्रोल, चामललगायतका सामग्री पर्छन् जुन खर्बौँ मूल्यबराबरको आयात हुने गरेको पाइन्छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा एक खर्ब ५३ अर्ब १९ करोड रुपैयाँको फलाम तथा फलामजन्य पदार्थ, दुई खर्ब १४ अर्ब ४० करोड रुपैयाँको पेट्रोलियम पदार्थ, एक खर्ब २३ अर्ब ६२ करोड रुपैयाँको मेसिन तथा मेसिनरी पार्टस र ९७ अर्ब ३७ करोड रुपैयाँबराबरको यातायात साधन आयात गरिएको छ ।
कुल वैदेशिक व्यापार २९.८५ प्रतिशत अंकले बढेको छ । गत आर्थिक वर्षको १२ महिनाको अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १२ खर्ब ९४ अर्ब ५० करोड रहेको थियो ।
व्यापारविज्ञहरूले मुलुकको व्यापारघाटा कम गर्नका लागि उत्पादनमा जोड दिई नजिकका भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकमा बजार प्रवर्द्धन गर्नसक्ने बताउँदै आएका छन् तर सरकारको उत्पादनमा वृद्धि गर्ने नीति सही हुन नसक्दा निर्यात व्यापार न्यून हुने गरेको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख रुपमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्यान्ड आदि प्रमुख छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्सलगायतका मुलुक प्रमुख रहेको पाइन्छ । यसैबीच गत आर्थिक वर्षभरमा भन्सार शुल्कबापत चार खर्ब २० अर्ब ९७ करोड रुपैयाँ उठेको छ ।