लन्डन । लन्डनको हिथ्रो विमानस्थलले बेलायत सरकारलाई खोप लगाएका यात्रुका लागि यात्रा प्रतिबन्ध हटाउन आग्रह गरेको छ । युरोपेली यात्रा गन्तव्यमा खस्केको व्यवसाय उठ्न नसकेपछि हिथ्रोले उक्त आग्रह गरेको रोयटर्सले जनाएको छ । महामारीका दौडान उक्त विमानस्थलले चार अर्ब डलर हाराहारीमा घाटा व्यहोरेको बताएको छ । महामारीअघि यो विमानस्थल युरोपकै व्यस्त मानिन्थ्यो । बेलायतको यात्रा कडाइले यसको व्यापार र यात्रुको मागमा कमी आाएको छ । सरकारले अब पनि केही नगरे रोजगारी कटौती हुने बताएको छ ।
हिथ्रोका प्रमुख कार्यकारी जोन हल्यान्ड कायेले युरोपेली विमानस्थलहरु ५० प्रतिशत व्यवसाय सञ्चालनमा फर्किाँदा हिथ्रोको महामारीअघिको तहमा हुनेमध्ये २०–२५ प्रतिशत मात्रै रहेको बताए । अहिले विमानस्थलबाट यात्रुवाहक जहाजहरु अमेरिकाजस्ता विश्वबजारमा नजाँदा बेलायती निर्यात पनि देशबाहिर नगएको बताउँदै उनले बेलायत पछि परेको बताए । यसो हुँदा बेलायतमा रोजगारी कटौती हुने भएकाले विमानस्थलबाट सेवा सुरु गर्न उनको आग्रह छ ।
हिथ्रोले कोरोनाविरुद्ध खोप लगाएकाका लागि अमेरिका र युरोपेली संघबाट आउने यात्रुलाई अनुमति दिन आग्रह गरेको छ । यसले अर्थतन्त्रको समेत पुनरुत्थान हुने उसको भनाइ छ । कतिपय युरोपेली देशले अमेरिकासँग द्विदेशीय यात्रा खोलिसकेका छन् र फाइदा लिइरहेका छन् । त्यसकारण बेलायतले पनि त्यसलाई अनुसरण गर्न ढिलो भएको उनले बताए ।
हिथ्रोले यो वर्षका लागि आफ्नो टर्मिनल भएर दुई करोड १५ लाख यात्रुले यात्रा गर्ने अनुमान गरेको छ । यो वर्षको पहिलो छ महिनामा ४० लाखले मात्रै यात्रा गरेका थिए । सन् २०१९ मा आठ करोड १० लाख यात्रुले त्यसरी यात्रा गरेका थिए । तर कोरोना नियन्त्रणका लागि सुरु गरिएका कडिकडाइले अहिले व्यवसाय नै अप्ठ्यारोमा पारिदिएको विमानस्थलले जनाएको छ ।