काठमाडौं । सेयरबजार परिसूचक ३१ सय अंकको नजिक पुगेको छ । अघिल्लो दिन आठ दशमलव २४ अंकले ओरालो लागेको सेयरबजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार २९ दशमलव २४ अंकले उकालो लागेर तीन हजार ७९ दशमलव ६७ अंकमा चढेको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यस दिन तीन दशमलव १९ अंकले उकालो लागेर पाँच सय ७४ दशमलव ३० अंकमा चढेको छ । यस दिन कुल १३ वटा उपसमूहअन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । यसअन्तर्गत तीन करोड २३ लाख ५५ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएकोमा कुल सेयर कारोबार रकम १५ अर्ब १७ करोड छ लाख ५१ हजार छ सय ४३ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा मंगलबार कारोबार भएका कुल उपसमूहहरुमध्ये चारवटा उपसमूहहरुको सूचक ओरालो लागेका छन् भने नौवटा र उपसमूहहरुको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक तीन दशमलव ६३ अंकले ओरालो लागेर दुई हजार एक सय २८ दशमलव ३४ अंकमा झरेकोमा लघुवित्त उपसमूहको सूचक पनि एक सय १६ दशमलव ६६ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ३८ दशमलव ८८ अंकमा झरेको छ ।
यीबाहेक ट्रेडिङ र होटल तथा पर्यटन उपसमूहको सूचक पनि क्रमशः दुई दशमलव ८७ र १८ दशमलव ७७ अंकले ओरालो लागेका छन् । विकास बैंक उपसमूहको सूचक भने ३५ दशमलव ५७ अंकले उकालो लागेर चार हजार सात सय ८९ दशमलव ५५ अंकमा चढेकोमा जलविद्युत् उपसमूहको सूचक पनि एक सय १९ अंंकले उकालो लागेर तीन हजार दुई सय ९० दशमलव १५ अंकमा चढेको छ ।
फाइनान्स उपसमूहको सूचक पनि ७१ दशमलव चार अंकले उकालो लागेर दुई हजार छ सय ६८ दशमलव ४० अंकमा चढेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय २० दशमलव २६ अंकले उकालो लागेर १४ हजार छ सय ११ दशमलव ७० अंकमा चढेको छ । यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि दुई सय ६० दशमलव शून्य आठ अंकले उकालो लागेर १७ हजार नौ सय २१ दशमलव ८५ अंकमा चढेकोमा उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी उपसमूहहरुको सूचक पनि क्रमशः तीन सय पाँच दशमलव १८, ६० दशमलव ३४, शून्य दशमलव १३ र तीन दशमलव पाँच अंकले उकालो लागेका छन् ।
कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ७२ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनाइटेड मोदी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर चार सय ७९ रुपैयाँ ६० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने पाँच दशमलव ४२ प्रतिशतले घटेर दुई हजार सात सय ३८ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव ६७ प्र्रतिशतले घटेर दुई हजार दुई सय ४० रुपैयाँ प्रतिकित्ता सेयर कारोबार भएको छ । यीबाहेक नेपाल इन्स्योरेन्स कम्पनी, समता लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यता एनआईसी एसिया बैंकको सबैभन्दा बढी रकमको कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता एक हजार ५६ रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड चार लाख ३४ हजार २० रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा परेको अपी पावर लिमिटेडको पनि प्रतिकित्ता चार सय ७८ रुपैयाँ अन्तिम मूल्यमा ४८ करोड छ लाख १७ हजार नौ सय छ रुपैयाँको सेयर कारोबार भएको छ । यीबाहेक युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यस दिन नेपाल हाइड्रो डेभलपर लिमिटेडको १५ प्रतिशतको अनुपातमा तीन लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।