काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र पाँचखाल नगरपालिकाबीच सम्झौता भएको छ । पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजनाअन्तर्गत रहेको पाँचखाल नगरपालिकामा सुविधासम्पन्न सहरी पूर्वाधार विकास तथा निर्माण’ र उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण परामर्शदाता तथा विकासकर्ता छनोटका लागि आवश्यक सहयोग लगानीको संरचना तय गर्नेलगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनसम्बन्धी कार्य अगाडि बढाउन पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौताामा पाँचखाल नगरपालिका नगरप्रमुख, महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुुन् । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरुलाई आवश्यक सहयोग पु-याउने उद्देश्य लिई, सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकारहरु, निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।